Trade Statistics [First five months (Shrawan-Mangsir) of fiscal year 2069/70]


आ. व.२०६९/७० को प्रथम पाँच महिना (श्रावण–मार्ग) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम पाँच महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशतले वृद्धि भई रु.२७३.०५ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.७ प्रतिशत र ८८.३ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ३.८ प्रतिशतले वृद्धि भई रु ३१.८८ अर्व तथा कुल पैठारीमा २४.३ प्रतिशतले वृद्धि भई रु. २४१.१७ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम पाँच महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.३ भएकोमा आ.व. २०६८/०६९ को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.६ पुगेको छ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाँदीका गरगहनाहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, सुपारी, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन्। समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा २१.८ प्रतिशतले ह्रास आई रु. २.१७ अर्व, तयारी पोशाकको निर्यातमा २९.७ प्रतिशतले ह्रास आई रु. १.५५ अर्व हुन आएको छ। यसै गरी फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५.७ प्रतिशतले वृद्धि भै रु. ४.९२ अर्व, पोलिष्टर तथा अन्य धागोमा ७.९ प्रतिशतले ह्रास आई रु. २.३४ अर्व, मुसुरोको दालमा ६५.३ प्रतिशतले वृद्धि भई रु १.६३ अर्व पुगेको छ। समीक्षा अवधिमा रु. ५२.०९ करोडको छाला, रु. १.२९ अर्वको अलैंची , रु. ९५.७८ करोडको चिया, रु. ६९.०८ करोडको अदुवा, रु. २३.५३ करोडको चाऊचाऊ, रु. ८४.५४ करोडको जडिवुटी, रु. ३७.५८ करोडको टुथपेष्ट, रु. २.१७ अर्व टेक्सटाइल, रु. १७.०९ करोडको हस्तकलाका सामानहरु, रु. १९.८७ करोडको नेपाली हातेकागज निकासी भएको देखिन्छ। साथै समीक्षा अवधिमा रु. १.४० करोडको कफी, रु. ८.१५ करोडको मैदा, रु ३१.७२ करोडको पीना तथा रु ४.१८ करोडको सावुन पनि निर्यात भएको देखिन्छ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, वंगलादेश, चीन, जर्मनी, युके, जापान, फ्रान्स, थाइलेण्ड, टर्की, इटाली, भुटान, क्यानडा आदि प्रमुख रुपमा रहेका छन्।

पैठारीतर्फ, आ.व. २०६८/६९ को प्रथम पाँच महीनाको अवधिमा अघिल्ल्ाो आर्थिकवर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा २५.६ प्रतिशतले वृद्धि भई रु. २४.२५ अर्ब, पेट्रोलियम पदार्थमा २५.१ प्रतिशतले वृद्धि भई रु. ४१.८० अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा ३७.० प्रतिशतले वृद्धि भई रु. १४.३९ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा १९.७ प्रतिशतले वृद्धि भई रु. १०.१५ अर्ब, औषधीमा २१.९ प्रतिशतले वृद्धि भई रु. ६.८७ अर्ब, मशिनरी तथा पार्ट्समा १९.४ प्रतिशतले वृद्धि भई रु. १२.०८ अर्ब, पोलिथिन ग्रेन्युल्समा १०.५ प्रतिशतले वृद्धि भई रु. ५.३२ अर्ब, कच्चा पाम आयलमा १९.८ प्रतिशतले ह्रास आई रु. १.२४ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा ५.६ प्रतिशतले वृद्धि भई रु. ५.३५ अर्ब, रसायनमा १७.१ प्रतिशतले वृद्धि भई रु. २.८७ अर्ब भएको छ। यसैगरी समीक्षा अवधिमा रु. ११.१३ अर्ब बराबरकेा सुन, रु. ७.८८ अर्ब बराबरकेा रासायनिक मल तथा रु. १.२९ अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन्। साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (रु. २.५० अर्व), भटमासको कच्चातेल ( रु. ४.६३ अर्व ), तयारी पोशाक (रु. ४.१५ अर्व), अन्न ( रु. ६.७८ अर्व ), ऊन ( रु. १.१४ अर्व) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ।

नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, थाइलेण्ड, इन्डोनेशिया, मलेशिया, अर्जेन्टिना, ब्राजील, संयुक्त राज्य अमेरिका, द.कोरिया, जापान, साउदी अरव, जर्मनी आदि प्रमुख रुपमा रहेका छन्।

नेपालका परम्परागत निर्यातजन्य वस्तुहरु जस्तै ऊनी गलैंचा, तयारी पोशाक आदिको निर्यातमा ह्रास आएको छ भने परम्परागत कृषिजन्य वस्तुहरुको निर्यातमा केही सुधार देखिएको छ। समीक्षा अवधिमा कच्चा पाम आयल वाहेक अधिकाँश प्रमुख वस्तुहरुको आयातमा उल्लेख्य वृद्धि भएका देखिन्छ। परिणामतः आर्थिक वर्ष २०६९/७० को प्रथम पाँच महीना अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.४ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापारघाटा रु. २०९.२९ अर्व पुगेको छ ।

 


Download file for more information: